Section 10
प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार
: प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम
हुनेछ :
(क) प्रतिष्ठानको शैक्षिक, प्राज्ञिक तथा अनुसन्धानात्मक कार्यलाई व्यवस्थित एवं नियमित गर्न आवश्यक नीति, योजना तथा कार्यक्रम बनाई स्वीकृतिको लागि सभामा पेश गर्ने,
(ख) स्वास्थ्य विज्ञान सम्बन्धी विभिन्न विषय र तहमा शिक्षा प्रदान गर्न अध्ययन तथा अनुसन्धान कार्यक्रम सञ्चालन गर्ने, गराउने,
(ग) प्रतिष्ठानको लागि आवश्यक पर्ने शिक्षकको योग्यता निर्धारण गर्ने,
(घ) प्रतिष्ठानबाट सञ्चालन हुने अध्ययन, अनुसन्धान, तालीम र प्रशिक्षण कार्यक्रमको स्तर निर्धारण तथा पाठ्यक्रम स्वीकृत गर्ने,
(ङ) विद्यार्थी छनौट गर्ने,
(च) परीक्षाको मापदण्ड निर्धारण गर्ने,
(छ) परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्ने,
(ज) प्रतिष्ठानबाट सञ्चालित अध्ययन कार्यक्रममा सफल हुने विद्यार्थीलाई उपाधि प्रदान गर्न सभामा सिफारिस गर्ने,
(झ) प्रतिष्ठानको तर्फबाट प्रदान गरिने मानार्थ उपाधि, छात्रवृत्ति, पदक र पुरस्कार प्रदान गर्न सभामा सिफारिस गर्ने,
(ञ) गुणस्तरीय पाठ्यपुस्तक तयार गर्ने,
(ट) प्रतिष्ठानबाट सञ्चालन हुने अध्ययन, अनुसन्धान, तालीम तथा प्रशिक्षण कार्यक्रमको मूल्याङ्कन गर्ने,
(ठ) अध्ययन, तालीम तथा अनुसन्धान बापतको शुल्क निर्धारण गर्ने,
(ड) सभाबाट स्वीकृत प्राज्ञिक परिषद्सँग सम्बन्धित निर्णय कार्यान्वयन तथा अनुगमन गर्ने,
(ढ) तोकिए बमोजिमका अन्य काम गर्ने ।